काठमाडौँ- नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।
नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको बताए।
आगामी जेठ ३० गते नेविसंघको मस्यौदाबारे छलफल गर्न पूर्व केन्द्रीय अध्यक्ष र पदाधिकारीसँग छलफल समेत गर्ने भएको छ। अध्यक्ष महरले विधानलाई अन्तिमरुप दिन असार ३ गते सातवटै प्रदेशका राजधानीमा सुझाव संकलन गरिने बताए। सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत दिएको छ।
यसैगरी असार १ देखि सदस्यता वितरण गर्ने, असार २० देखि सबै शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघले जनाएको छ।
नेवि संघका प्रवक्ता प्रेमराज जोशीले २०७४ असोज ३१ को राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको बन्दसत्रबाट पास भएको समयअनुसार नेविसंघको महाधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।