काठमाडौं- निर्देशक मनोज पण्डितको नयाँ फिल्म ‘एक’ को ट्रेलर सार्वजनिक भएको छ। पण्डितको लेखनसँगै निर्देशन रहेको फिल्मको ट्रेलर सोमबार एक भर्चुअल कार्यक्रम गरि ‘ओएसआर’ डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा स्वतन्त्र मधेशको मुद्दालाई उठाइएको छ। ‘स्पाई (जासुसी)’ जन्रामा रहेको फिल्मको ट्रेलरकाअनुसार स्वतन्त्र मधेशसँगै संविधानलगायतका राजनीतिक मुद्दासँगै विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको कथालाई देखाइएको छ। राजनीतिमार्फत देशविरुद्ध लाग्नेविरुद्ध एक गुप्तचरले निभाएको भूमिका र उनले गरेको संघर्षमा फिल्मको कथा आधारित छ।
मुख्य गरि बारा, पर्सालगायतका तराईंका जिल्लामा सुटिङ भएको फिल्ममा डोल्पाका हिमाली भेगहरुसम्म देखाइएको छ। राजनीतिक विषयको फिल्म एक्सन सिनले भरिएको ट्रेलरमा देखिन्छ।
फिल्मको मुख्य भूमिकामा विशाल पोखरेल, प्रमोद अग्रहरी र ज्योत्सना योगीले अभिनय गरेका छन् भने प्रमोद खड्का, विश्वन्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक लगायतले पनि फिल्ममा अभिनय गरेका छन्। आत्मा गुरागाईं र सोफिया थापाले निर्माण गरेको फिल्ममा महेश बराल सहायक निर्देशक छन्। फिल्मलाई भरतमणि रेग्मीले सम्पादन तथा रंग संयोजन गरेका छन् भने द्वन्द्वको पाटोलाई प्रमोद खड्काले हेरेका छन्।
फिल्मको पाश्र्वध्वनी गोविन्द मधुर आचार्य र पुस्कर महातौनको छ भने गीत हरि लम्सालले गाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।