काठमाडौं- नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवन नाफाको भएको बताएका छन्। दिल्लीमा उपचारपछि सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरुमाझ गरेको सम्बोधनमा उनले देशको निम्ति आफ्नो समय खर्चिने बताए।
'अब म आफ्नो सास रहुञ्जेल यो देशको निम्ति, यो राष्ट्रको निम्ति, यो राष्ट्रको राष्ट्रियताको निम्ति र कम्युनिस्ट आन्दोलनको विकास, विस्तार, क्रान्तिकारीकरण, मार्क्सवादी, लेनिनवादी पार्टीको निम्ति साँचो अर्थमा समाजवाद निर्माण गर्ने प्रतिबद्धता भएको पार्टी निर्माण गर्ने काममा मेरा समयहरु खर्चिनेछन्', उनले भने।
खनालले नेपालमा अझै दिगो शान्ति स्थापना नभइसकेको भन्दै दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा जाने कुराहरुप्रति आफ्नो सम्पूर्ण जीवन समर्पित हुने बताए।
'म ७० वर्ष पुगिसकेको हुनाले मैले अब कुनै कार्यकारी पोस्टको दाबी गर्ने विचार गरेको छैन। तर पनि पार्टीले मलाई के दिन्छ। के गर् भन्छ। त्यसका लागि मैले ठाउँचाहिँ राखेको छु। र, म मेरो आफ्नो तर्फबाट भने मलाई कार्यकारी पोस्टमा माग गर्ने कुनै नैतिक अधिकार छैन', उनले भने।
खनालले नवौं महाधिवेशनमा 'चेयरमेन'को हैसियतले महाधिवेशन सञ्चालन गर्ने क्रममा पारित भएको विधानमा ७० वर्षे मापदण्ड राख्न आफ्नो प्रमुख भूमिका रहेको बताए। 'त्यसमा दृढतापूर्वक अडिएर जानुपर्छ भन्ने कुरा म आफ्ना निम्ति माग गर्छु। र अन्य सबै अन्य नेताहरुलाई पनि त्यो कुरालाई ध्यान राख्नुस् भनेर म आग्रह गर्न चाहन्छु', उनले भने।
खनाल असार २ गते उपचारका लागि दिल्ली गएका थिए। खनालको स्वागतको लागि माधवकुमार नेपाल, वेदुराम भुसाल, गंगालाल तुलाधर, मुकुन्द न्यापाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, विरोध खतिवडा लगायतका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता त्रिभुवन विमानस्थलमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।