काठमाडौं- दिल्लीबाट उपचार गरी फर्किएका नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। सोमबार त्रिभुवन विभानस्थलमा अवतरणपछि पत्रकारहरुसामु सम्बोधन गर्दै उनले ओलीको सरकार ढल्नु भनेको निरंकुशताको पराजयको रुपमा व्याख्या गरे।
'केपी ओलीको सरकार आफैंमा निरंकुश थियो। त्यो सरकार ढल्नु भनेको निरकुंशताको पराजय हो। दक्षिणपन्थी अवसरवादको पराजय हो। अहंकारवादको पराजय हो। कम्युनिस्ट पार्टी विघटन गरेको होइन। कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर आँशु बगाउनुपर्ने जरुरी छैन। त्यो कम्युनिस्ट पार्टीको नाममा बदनाम सरकार थियो। बदनाम सरकार ढल्यो', उनले भने।
खनालले अहिले वामपन्थी र लोकतान्त्रिक पार्टीहरुको साझा सरकार बनाएको बताए। 'यो साझा सरकार चलाउन त कठिन हुन्छ। तर के गर्नु? हाम्रो देशमा सात सालदेखि सबैको सरकार बिना एक पाइला पनि प्रगति भएको छैन। त्यसैले अहिले पनि गठबन्धन जारी छ। यसलाई जारी राख्नु किन पनि जरुरी छ भने हाम्रो लोकतन्त्र, गणतन्त्र र संविधान कलिलो छ। यसलाई सुदृढीकरण गर्नको निम्ति यी शक्तिहरुको बीचमा सहकार्य जरुरी छ। हाम्रा बीचमा प्रतिस्पर्धा पनि भइरहन्छन्। तर सहकार्य अहिलेको मूल आवश्यकता हो', उनले भने।
खनाल असार २ गते उपचारका लागि दिल्ली गएका थिए। खनालको स्वागतको लागि माधवकुमार नेपाल, वेदुराम भुसाल, गंगालाल तुलाधर, मुकुन्द न्यापाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, विरोध खतिवडा लगायतका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता त्रिभुवन विमानस्थलमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।