काठमाडाैं– भारतीय पक्षले तुइन काट्दा खोलामा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले आफ्नो पोजिसन प्रष्ट पार्न सत्तागठबन्धनका नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।
बिहान प्रधानमन्त्री निवास बालुवाटरमा सम्पन्न बैठकमा उनीहरुले भारतीय पक्षसँग कुटनीतिक रुपमा के कुराकानी भइरहेको छ त्यसको जानकारी सार्वजनिक रुपमा गराउन समेत माग गरेको छ।
सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका थिए।
‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो,’ उनीहरुले देउवालाई भने, ‘एक जना नेपालीको ज्यान गएको घटनामात्र नभई यसलाई गम्भीर रुपमा लिनुपर्ने छ।’
१५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए। घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ।
समितिले प्रतिवेदन तयार पारेको वा नपारेको जानकारी नभएको र उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जानकारीसमेत उनीहरुले प्रधानमन्त्रीलाई गराए। गठबन्धनको ध्यानाकर्षणप्रति प्रधानमन्त्री सकारात्मक रहेको र प्रतिवेदन बुझेपछि कार्यान्वयनमा लैजाने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएकाे नेपाली काग्रेसका नेता पूर्णबहादुर खड्काले बताए। भारतसँग कूटनीतिक वार्ता गर्न परेपनि सरकार गर्न तयार रहेको प्रधानमन्त्रीले गठबन्धनका नेतालाई बताएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।