फाइल तस्बिर
काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको पुनर्संचना नै गलत भएको बताएका छन्। आइतबार लुम्बिनी प्रदेशको भैरहवामा आयोजित जसपाको अभिमुखीकरण कार्यक्रमको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उभिएका उनले सुरुआतमै राज्यको गलत पुनर्संरचनाको कारण सम्बोधनमा अप्ठ्यारो परेको बताए।
'यहाँ राज्यको पुनर्संरचनाले अप्ठ्यारो पारेको छ। यताको तराई र उताको पहाड जोडेर अप्ठ्यारो बनाएकोले कार्यक्रमलाई पनि अप्ठ्यारो बनाएको छ। कस्तो अप्ठ्यारो भने नेपालीमा बोल्ने हो भने तराईका साथीहरुले बुझ्न कठिन पर्छ। हिन्दीमा बोल्ने हो भने पहाडका साथीहरुलाई अलिअलि कस्तो-कस्तो लाग्छ,' उनले भने।
पहाड र तराईका जिल्लाहरु समेटेर लुम्बिनी प्रदेशको निर्माण गरिएको थियो। दुई भेगका नेता तथा कार्यकर्ताहरु सहभागी भएकाले स्रोताहरु पनि फरक-फरक भाषीका थिए। जसलाई इंगित गर्दै यादवले भने- 'आगामी दिनमा हामीले यस्तो कार्यक्रमलाई नै दुई भागमा बाँड्नुपर्छ। एउटा तराईका साथीहरुलाई, अर्को पहाडका साथीहरुलाई। अनि मात्रै यो समस्याको हल हुन्छ। राज्य पुनर्संरचना नै सच्याउनुपर्छ भन्ने देखिन्छ।'
त्यसपछि यादवले सहभागीहरुलाई नै कुन भाषामा बोलौं भनेर सोधेका थिए। सहभागीहरुबाट मिश्रित जवाफ आएको थियो। तर हिन्दी भन्ने आवाजलाई प्रस्ट सुनिएको थियो। त्यसपछि यादवले समावेशी भाषामा सम्बोधन गर्ने बताए। उनले हिन्दीमा बोल्ने र कुनै बेला नेपालीमा पनि बोल्ने बताए। त्यसपछि भने उनले हिन्दी भाषामा सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।