काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीहरु पार्टीमा नआए त्यहाँ सरकार परिवर्तन हुने जनाएको छ। निर्वाचन आयोगबाट पार्टी दर्ताको आधिकारिकतापछि आइतबार पहिलोपटक बसेको संसदीय दलको बैठकमा प्रदेश १ र बागमतीका मुख्यमन्त्री पार्टीमा नआए सरकार परिवर्तन गर्ने छलफल भएको हो।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता एवम् सांसद् विरोध खतिवडाले प्रदेश १ र बागमतीका मुख्यमन्त्री एकीकृत समाजवादीमा नरहे त्यहाँ गठबन्धनले नयाँ सरकार बनाउने बताए।
‘अहिले भएका मुख्यमन्त्री एकीकृत समाजवादीमा रहनु भयो भने गठबन्धनले त्यही अनुसार सोच्छ। एकीकृत समाजवादीमा नरहे गठबन्धनले नयाँ मुख्यमन्त्री बनाउँछ। के गर्ने उहाँहरु (अष्टलक्ष्मी शाक्य र भीम आचार्य) को निर्णयमा भरपर्छ।’
नेकपा एमालेमा लामो समय माधव नेपाल पक्षमा रहेका अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री छन् भने भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री छन्। नेता नेपालले नयाँ दल गठन गर्ने भएपछि शाक्य र आचार्य अध्यक्ष ओली पक्षमा लागेका थिए। ओली पक्षमा लागेपछि केही दिन अगाडि मात्रै उनीहरु मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
एमाले विभाजनपछि एकीकृत समाजवादी गठन हुँदा दुवै प्रदेशका सरकार अल्पमतमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।