काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै आफूहरुले कुनै पार्टीसँग एकता नगर्ने प्रष्ट पारेका छन्। आइतबार सो पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकताका सम्बन्धमा भइरहेको चर्चामा सत्यता नभएको बताएका हुन्।
'कतिपटक भन्नुपर्छ, म प्रष्ट पार्न चाहन्छु। कसैकसैले भनिरहेका छन्, अरुको टाङमुनि छिर्न गइरहेका छन्। अरुको कार्यकर्ता बन्न गइरहेका छन्। तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन्। यो सबै वाहियात कुरा हुन्,' उनले भने, 'त्यसमा कुनै सत्यता छैन।'
अध्यक्ष नेपालले आफूहरुको संगठन पहिल्यै निर्माण रहेको बताए। 'गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा, जिल्लाजिल्लामा संगठन छ। सामानान्तर कमिटी छन्,' उनले भने।
उनले पहिल्यै विभाजन गर्नुपर्ने आवाज उठेको भए पनि त्यतिबेला जनप्रतिनिधिहरुको पद जोगाउन पार्टी विभाजन नगरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।