साहसिक खेल भनेपछि म हुरुक्कै। पोखराको बञ्जी सुरु भएको निकै भए पनि 'जम्प' गर्ने मेसो भने जुरेको थिएन। पोखरा बसाइका क्रममा लागेँ हेम्जातिर, बञ्जी गर्न।
बञ्जीको सञ्चालक हाइ ग्राउन्ड एड्भेन्चरको गाडीमा नयाँ साथीहरू भेटिए। सबैको अनुहारमा खुसीसँगै डर मिसिएको प्रस्टै देखिन्थ्यो। बंगलादेशबाट अफिसका साथीहरूसँगै घुम्न आएका अर्फाज खान बञ्जीमा भने एक्लै आएका थिए। साथीहरूले आँटै नगरेको उनले सुनाए। बिहान पाराग्लाइडिङ गरेका उनी एक यात्राले आफ्नो चित्त नबुझेको र फेरि नेपाल आउने बताउँदै थिए।
हाइ ग्राउन्ड एडभेन्चरको परिसर टेकेपछि कताकता मनमा सिरसिर बतास चल्न थाल्यो। पहिले भोटेकोसीको 'द लास्ट रिसोर्ट'मा बञ्जी र स्वीङ गरिसके पनि मनमा डरले डेरा जमाउन छोडेन। आखिर प्लाटफर्मको डिलमा उभिँदा लाग्ने डरको प्रत्यक्ष अनुभव जो छ।
हामी सबैलाई 'फुल बडी हार्नेस' लगाइयो। हार्नेस लगाइरहँदा बञ्जी क्रुले गरेको क्लिपिङमा निकै ध्यान जाँदो रै'छ। सायद त्यही हार्नेसका फित्तामा हाम्रो जीवन अड्कँदै छ भन्ने डरले होला।
हार्नेस लगाएर हामी क्यान्टिलिभर टावरमा चड्यौं। माथि पुगेपछि हामीलाई क्याराभिनाले डोरीमा लक गरेर राखियो। सबैको अनुहारको चमक घट्दो थियो अनि धड्कन बढ्दो।
जम्प मास्टर राम क्षेत्रीले सुरक्षा सावधानी र जम्प टेकनिकको ब्रिफिङ दिए। बिरौटा पोखराका क्षेत्रीले त्यही काम गरेको ६ वर्ष भइसकेछ। यसअघि विश्वकै अग्लो बञ्जी मकाउको ए जे ह्याकेटमा चार वर्ष काम गरेर फर्केका उनी थाई बक्सिङका खेलाडीसमेत हुन्।
ब्रिफिङपछि जम्प गर्ने पालो आयो। सुरुमा जम्प गर्न कोही तयार भएनन्। मै निस्केँ। आँट जतिसुकै होस् प्लाटफर्ममा पुगेपछि मुटु ढुक-ढुक भइहाल्छ। हातमा गोप्रो बाँधेर मलाई एज (डिल)मा उभिन भनियो।
एकैछिन अगाडिसम्म सूक्ष्म अध्ययन गरिरहेको म अहिले कसले के भन्दै छ पत्तो पाउनै छोडिसकें। याद छ त केवल पछाडि अरु साथीहरूले हुटिङ गरेको अनि जम्प मास्टरले काउन्टडाउन गरेको।
म अगाडि फर्केर जम्प गर्न लागेको थिएँ। अचानक सोच बदलियो। पहिलोपल्ट बञ्जी गर्दा अगाडि फर्केर जम्प गरेँ। दोस्रो जम्पमा स्वीङको अनुभव लिन पाएँ भने तेस्रोमा ब्याक जम्प गर्छु भन्ने भयो। म ब्याक जम्प गर्ने गरि उभिएँ।
म एजमा थिएँ। रामले थ्री, टु, वान गनेपछि मेरा पैतालाले टावर छोडे, मैले होस् छाडेँ। जम्पको सुरुमा एक/दुई सेकेन्ड शून्यतामा हराउनु नै बञ्जीको प्रमुख आनन्द लाग्छ मलाई।
सायद पहिलेको अनुभवले पनि होला लचकदार बञ्जी कर्ड (डोरी)ले दोस्रो बाउन्स गराइरहँदा मलाई तेर्स्याइएको क्यामेरामा ध्यान केन्द्रित गर्न भ्याइसकेको थिएँ।
टावरबाट बञ्जी कर्ड विस्तारै छोड्दै गएपछि म सिधै तलको पोखरीमा रहेको र्याफ्टिङ बोटमा उत्रिएँ। शून्यताको अनुभव गर्दै उचाइलाई जितेर आउँदा खुसी नहुने त को नै हुन्छ र! म त झन् 'जम्प ह्याट्रिक' गरेर आएको थिएँ।
भारतकी शालिनी पान्डे लखनऊमा आठ वर्ष सँगै पढेकी काठमाडौंकी साथी देवाँशी शाहसँगै थिइन्। साथीलाई नेपाल घुमाउन बोलाएकी देवाँशीले शालिनीभन्दा पहिले जम्प गरिन्। सुरुको तीन/चार सेकेन्ड उनको आवाज केही सुनिएन। तल आएर उनले अनुभव सुनाइन्, 'एजमा निस्केपछि त सातो गयो। एक मन जम्प नगरी फर्किउँ पनि भयो तर पछि आँट गरेर जम्प गरें। साँच्चै जीवनमा म सायदै यति खुसी भएथें। त्यही भएर होला केही पाउन केही गुमाउनपर्छ भनेको।'
वसन्तपुरस्थित एक क्याफेमा कार्यरत सोरेन लिम्बू काठमाडौंदेखि एक्लै घुम्न निस्केका रहेछ्न्। उनी त्यो यात्राका कान्छा साथी थिए। सुरुदेखि नै उनी निकै उत्साहित देखिन्थे। बञ्जीको सुरुआतको 'फ्री फल'ले जीवनको अर्थ बुझाएको उनले बताए।
जीपलाइन र बञ्जी दुवै एकै ठाउँमा गर्न पाइने भएकाले पोखरा पुग्ने धेरै साहसिक खेलप्रेमीले हाइग्राउण्ड रोज्ने गर्छन्। युरोपको बञ्जी सिगुल्टा, लाटभियाको फ्रेन्चाइज भएकाले सेफ्टी स्ट्यान्डर्डदेखि उपकरण सबै युरोपियन स्ट्यान्डर्डको हुने हाइग्राउण्ड एड्भेन्चर्सका सीईओ दिनेश महर्जनले बताए।
दुई जनाले सँगै जम्प गर्न मिल्ने ट्यान्डम बञ्जी नेपालमा पहिलोपटक हाइग्राउण्डले नै सुरु गरेको छ। अहिलेसम्म ट्यान्डम बञ्जीको एक मात्र विकल्प हाइग्राउण्ड रहेकोले जोडी जम्प गर्न युवाहरुको विशेष आकर्षण रहँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।