काठमाडौं- बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनले आफूले जुनसुकै सिनेमामा अभिनय गर्नुअघि त्यसका संवादहरुलाई धेरै पटक रिहर्सल गर्ने बताएका छन्।
‘चेहरे’ सिनेमाका निर्माता आनन्द पण्डितसँग अर्का अभिनेता इमरान हाशमी र बच्चनले गरेको कुराकानीमा बच्चनले आफ्नो उमेर धेरै भएकाले संवाद याद गर्न पटक-पटक रिहर्सल गर्ने बताएका हुन्।
‘यदि निर्देशक र निर्माताले फिल्म बनाउने निधो गरेका छन् भने हामी कलाकारले पनि उनीहरुको प्रोटोकललाई मान्नुपर्छ,’ अमिताभले भनेका छन्, ‘मेरो उमेर धेरै भइसकेको छ। संवाद छिट्टै याद नहुने भएकाले म पटक-पटक रिहर्सल गरेर संवाद याद गर्ने गर्छु।’
आफ्ना सहकर्मी कलाकारले बच्चनलाई धेरै रिहर्सल गर्ने गरेको भने पनि आफूले आफ्नो जिम्मेवारी मात्रै पूरा गरेको बच्चनले बताएका छन्। उनले भनेका छन्, ‘मेरा सहकर्मी कलाकारले धेरै रिहर्सल गरेको भने पनि म आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुन्छु। निर्देशक र निर्मातालेजस्तै सिनेमामा मैले शतप्रतिशत दिनैपर्छ।’
उक्त कुराकानीमा अर्का अभिनेता हाशमीले बच्चनकै सिनेमा हेरेर आफू हुर्किएको र उनले सिनेमामा आफ्नो सबै तागत लगाउने बताएका छन्। बच्चनका बारेमा बोल्दै उनले भनेका छन्, ‘उहाँको राम्रो पक्ष भनेको उहाँ एउटा फिल्ममा आफ्नो सबै थोक दिनुहुन्छ। म उहाँकै सिनेमा हेरेर हुर्किएको हुँ। उहाँका सिनेमाबाट धेरै कुरा सिकेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।