गत जुनमा प्रदर्शनमा आएको चर्चित भारतीय वेब सिरिज ‘द फ्यामेली म्यान’को दोस्रो सिजनकी अभिनेत्री समान्था अक्किनेनी आफ्नो अभिनयका कारण निकै चर्चामा आएकी थिइन्। तामिल गुरिल्लाको पात्र ‘राजी’को भूमिकामा देखिएकी समान्थाको अभिनयको चौतर्फी प्रसंशा भएको थियो। दक्षिण भारतीय सिनेमामा स्थापित उनले उक्त सिरिजमार्फत बलिउडका दर्शकमाझ पनि आफ्नो पनि स्थापित देखिएकी थिइन्।
सिरिज प्रदर्शनमा आएको दुई महिनापछि समान्थाले आफ्नो अभिनयको अनुभव सार्वजनिक गरेकी छिन्। ‘द इन्डियन एक्सप्रेस’सँगको कुराकानीमा समान्थाले आफूले गरिरहेकोभन्दा फरक भूमिका जोखिमपूर्ण लागेको बताएकी छिन्। उनले भनेकी छन्, ‘मैले मेरो भूमिका कि नराम्रोसँग असफल हुने कि स्थापित हुने सोचेको थिएँ। मेरो निम्ति अभिनयको अनुभव डरलाग्दो र जोखिमपूर्ण थियो।’
दक्षिण भारतीय सिनेमामा ‘क्युट गर्ल’ का रुपमा देखिने (देखाइने गरिएकी) समान्थाको यो भूमिका पूर्ण रुपमा फरक छ। तामिल गुरिल्लाको भूमिकामा देखिएकी उनी श्रिलंकाको गृह युद्धदेखि तामिलमाथि भएको दमनलाई प्रतिनिधित्व गर्ने पात्रको रुपमा देखिएकी छिन्।
‘यति धेरै मान्छले मलाई फोन म्यासेज गर्छन् भन्ने सोचेको पनि थिइन्ँ’, समान्थाले भनेकी छिन्, ‘कहिल्यै फोन नगर्ने मानिसले पनि मलाई फोन गरेका छन्। मैले डर मानेर गरेको अभिनयमा आफूलाई साबित गर्न सकेकी छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।