काठमाडौं– महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुडाउँदा धामी महाकालीमा खसेको बताएका थिए।
बेपत्ता भइरहेका धामीको खोजी जारी रहेको जनाइएको छ। उक्त घटनाको छानबिनका लागि सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले अझै प्रतिवेदन बुझाइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।