काठमाडौं– नेकपा एमालेले निर्वाचन आयोग र राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव प्रदीप ज्ञवालीले २ वटा विषयमा सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिए।
बिहीबार बसेको केन्द्रीय कमिटिको बैठकले अलग दल (नेकपा एकीकृत समाजवादी) दर्ता गरेकालाई निष्कासन गरी निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको छ। कसैले भुल महसुस गरेर निर्णय सच्याउन चाहेमा 'ढोका खुलै राख्ने' निर्णय भएको पनि ज्ञवालीले जानकारी दिए।
पार्टीले निष्कासन गरिसकेका व्यक्तिलाई निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखतमा समावेश गराएको भन्दै आयोगको उक्त निर्णयविरुद्ध अदालत जाने निर्णय भएको ज्ञवालीले जानकारी दिए।
‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णय भएको छ। कारबाही गरिएका व्यक्ति र अनुपस्थित भएका व्यक्तिलाई सनाखत गराउने कार्य भएको छ,’ उनले भने, ‘यसको कानुनी प्रतिवाद गर्ने छौं।’
उनले सभामुख अग्नि सापकोटाको भुमिका निष्पक्ष नभएको पनि टिप्पणी गरे।
'सभामुखले कारबाही नगरेको पनि यथोचित र संसदीय अभ्यासअनुसार प्रतिवाद गर्ने छौं ,’ उनले भने, ‘सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश संविधानले परिकल्पना नै नगरेको स्थानीय तहका पदाधिकारीले नयाँ दलमा जाने गरि गरिएको व्यवस्था मर्म विपरीत भएकाले कानुनी उपचार खोज्ने छौं।’
स्थानीय तहका पदाधिकारीहरु कसैलाई पनि नयाँ पार्टीमा नलाग्न आग्रह गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।