काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले वामपन्थी लोकतान्त्रिक शक्तिहरु सहकार्य गर्ने बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले वामपन्थी र लोकतान्त्रिक गठबन्धन अगाडि बढोस् भन्ने चाहेको पनि बताए।
'अहिलेको सत्ताधारी पार्टी नेपाली कांग्रेस, गठबन्धको नेकपा माओवादी केन्द्र, र त्यसैगरी जनता समाजवादी पार्टी सबैसँग हामी सहकार्य गर्नेछौं। सत्ताभन्दा बाहिर भएका अरु वामपन्थी लोकतान्त्रिक शक्तिहरुसँग पनि हामी सहकार्य गर्नेछौं। हामी चाहन्छौं, यो वामपन्थी लोकतान्त्रिक गठबन्धन अगाडि बढोस्', उनले भने।
अध्यक्ष नेपालले नवौं महाधिवेशनले अघि सारेको सुखी नेपाल र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने हिसाबले आफूहरु अगाडि बढ्ने बताए। 'पार्टीको नवौं महाधिवेशनको राजनीतिक दिशालाई अहिलेको परिस्थिति अनुसार परिमार्जन गर्दै हामी अगाडि बढ्नेछौं', उनले भने।
नेपालले आफूहरुले कार्यकर्ताको भेला गर्ने र नयाँ नेतृत्वको निर्वाचन गर्ने बताए। 'हामी पार्टीको विशाल कार्यकर्ताहरुको भेला गर्नेछौं। त्यसलाई राष्ट्रिय सम्मेलनको रुपमा अगाडि सार्नेछौं। त्यसमा हामी हाम्रा विचार र मान्यताहरु प्रतिवेदनको रुपमा अगाडि सार्नेछौं। त्यहाँबाट हामी नयाँ नेतृत्वको निर्वाचन गर्नेछौं। अहिले निर्वाचन आयोगमा हामीले केन्द्रीय कमिटीको नामावली दिएका छौं। त्यो बीचको अवधिको नामावली मात्रै हुनेछ। उहाँहरुले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुहुनेछ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।