काठमाडौं- एकृीकत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमालेसँग र अन्य कम्युनिष्ट पार्टीसँग एकताको ढोका खुलै रहेको बताएका छन्। पार्टी दर्ता भएको भोलिपल्ट बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले पाँच कम्युनिष्ट पार्टीका बीचमा एकता गर्ने पहिलो अभियान हुने बताए।
‘एमालेसँग सधैंभरि एकताको ढोका खुलै हुने छ। एमालेमा विद्रोह गरेर आएमा एकता हुन्छ’, उनले भने, ‘शत्रुताको वाटो छोडेर आए एकता हुन्छ। केपी ओलीको कब्जामा रहेको नेकपा एमाले पार्टीभित्र नयाँ ढंगको विद्रोह भयो भने सधै भरि एकताको ढोका खुलै हुने छ।’
गलत विचार र दक्षिणपन्थी भड्काउको आधारमा प्रतिगमनको मान्यता स्वीकार गरेर एकता नहुने उनले बताए।
एमसीसीका विषयमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको अध्ययन समितिले दिएको सुझाव अनुसार अघि बढ्ने नेता नेपालको भनाइ छ। ‘एमसीसीमा विगतमा भएका अध्ययनको मान्यताका आधारमा सुधार र परिमार्जन गरेर लागू गर्ने जोड दिने छौ,’ उनले भने, ‘विदेशीको हितमा होइन नेपालीको हितमा होस् भन्ने चाहान्छौं।’
उनले आफू आजीवन राजनीतिक गर्ने पक्षमा रहेको बताए। ‘मैले अहिले पनि भनेको छु, एमाले केपी ओलीले छोडेर युवा पुस्ताले सम्हाले हुन्छ,’ उनले भने, ‘माधव नेपालले अब राजनीति गर्दैन। मेरो सोचाई आजीवन र लौरो टेक्दापनि नेतृत्वमा बस्ने सोच छैन। यो पटक नै छाड्न चाहेको साथीहरुले मान्नु भएन। तर, युवाहरुलाई नेतृत्व हस्तान्तरण हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।