फाइल तस्वीर
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा आफूसँग रहेका कतिपय योद्धाहरुले साथ छाडेकोमा चिन्ता नलागेको बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले आफू क्रान्तिकारी धारमा अगाडि बढेको बताए।
'आज सहयोद्धामध्ये कतिपय मेरो साथमा हुनुहुन्न। यस्तो हुनेगर्दछ। ३२ सालका कतिपय सदयोद्धाहरु साथमा छैनन्। माले कालका कतिपय सहयोद्धाहरु छैनन्। एमालेकालका कतिपय सहयोद्धाहरु छैनन्। तर हाम्रो यात्रा निरन्तर रुपमा जारी रहेको छ। फेरि ती योद्धाहरु यो यात्रामा सहभागी हुनसक्नुहुन्छ। उहाँहरुबारे मैले गुनासो गर्नुपर्ने केही छैन। किनकि क्रान्तिकारी धारमा अगाडि बढ्नेले सबै चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ। समयको मागलाई बुझ्नुपर्छ। जनताको चाहना थाहा पाउनुपर्छ। कार्यकर्ताको भावना बुझ्नसक्नुपर्छ। विद्रोही चेत र आँट राख्नुपर्दछ। हामी त्यही चेत र आँटका साथ अगाडि बढेका छौं', उनले भने।




उनले एमालेमा रहँदाका विद्रोही धारले सर्वसम्मत रुपमा केपी ओलीलाई नपन्छाएसम्म नेपाली राजनीति अगाडि बढ्न सक्दैन भनेको स्मरण गरे। 'जसरी पनि केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनै पर्छ भन्ने सबैको सर्वसम्मत धारणा थियो। त्यही धारणाको आधारमा हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस सभापति शेरबहादुर देउवाजीसँग कुरा गर्यौंम। सबैले हामीलाई जिम्मेवारी दिनुभएको थियो। शेरबहादुरजीलाई पनि साथमा लिएर जाऔँ। एउटा नयाँ मोर्चा बनाऔँ। केपी ओलीलाई अल्पमतमा पारौं। यो सरकारलाई फालौं र फाल्ने काममा अगाडि बढ्नुस् भनेर सबैले मलाई जिम्मेवारी सुम्पिनुभएको थियो। र मेरा सहयोद्धाहरुले मलाई पूरा साथ दिनुभएको थियो', उनले भने।
उनले पहिल्यै पार्टी विभाजन गर्ने तयारी गरिएको भए पनि जनप्रतिनिधिहरुको हितलाई ध्यान राखेर त्यतिबेला विभाजन नगरिएको बताए। 'अहिले एएटा संवैधानिक र कानुनी प्रबन्ध हाम्रो निम्ति अनुकूल हुनपुग्यो। यो अनुकूलतालाई ध्यानमा राखेर हामीले केपी ओलीको कब्जामा रहेको त्यो पार्टीबाट, हामी गुम्सिरहेको त्यो अवस्थाबाट उम्किनका लागि एउटा निकास हामीले पायौं। सबै निर्वाचित प्रतिनिधिहरुलाई जोगाउन सकिने अवस्था पनि हामीले देख्यौं। कार्यकर्ताप्रति जिम्मेवारी बोधको भावनालाई हामीले आत्मसात गर्यौंर, जनताप्रतिको जिम्मेवारी बोधको भावना प्रति हामी गम्भीर भयौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।