काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लखटेर नयाँ पार्टी गठन गर्न बाध्य नबनाएको बताएका छन्। बिहीबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उनले केही व्यक्तिको इर्ष्या र अहंकारले पार्टी विभाजन गरिएको बताए।
'हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारी बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धताहरु बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेदमा होइन, कसैले लखेटेर बस्न नसकेर होइन, सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला, अगाडि बढिरहेका बेला स्वार्थवश, केहीका अहंकारवश, केहीका इर्ष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएको छ,' आफ्नो सम्बोधनमा ओलीले भने।
उनले विगतमा सरकारमा भएको बेला देशलाई सही बाटोतिर अगाडि बढाएको बताए। तर, केही मानिसहरुको गैरजिम्मेवार प्रवृत्ति र स्वार्थका कारणले पार्टीभित्र हुँडलो मच्चाउने काम भएको उनको भनाइ थियो। 'जसले आन्दोलनमा गम्भीर संकट पैदा भयो। पार्टी विभाजन भयो। केन्द्र र विभिन्न प्रदेशका सरकार ढालियो,' उनले भने।
ओलीले पार्टीका उद्देश्य, नीति, विचार, कार्यदिशा र बाटो सही भएको बताए। 'हाम्रा महाधिवेशनहरु र हामीले एकता एकीकरण गर्दा सबै परिस्थितिमा हाम्रो उद्देश्य, गन्तव्य, कार्यदिशा र हाम्रो बाटोको विषयमा गहन छलफल गरेका थियौं। र सही अडान राखेर अगाडि बढेका छौं,' उनले भने।
उनले पार्टीमा उत्पन्न 'जिगज्याग'पछि केन्द्रीय कमिटीका थुप्रै सदस्यहरु बैठकमा सहभागी भएको बताए। 'एकातिर हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधको अभिभारा पूरा गर्न आफू सामु उपस्थित चुनौतीहरुको सामना गर्न र आगामी विजय यात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।