काठमाडौं- नेकपा एमाले विभाजित भएपछि पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बिहीबार एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको हो।
वरिष्ठ नेता माधव कुमार नेपालले एमाले विभाजित गरेर बुधबार(हिजो) नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बसेको हो। एमाले विभाजन गरी गठन गरिएको एकीकृत समाजवादीको पक्षमा ३० संघीय सांसद् र ५५ केन्द्रीय सदस्यले सनाखत गरेका थिए।
नेकपा एमालेमा हुँदा माधव नेपाललाई साथ दिएका नेताहरु पनि बैठकमा उपस्थित छन्।
आजको बैठकमा एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे छलफल हुने जनाइएको छ।

आजको बैठकले मुख्य गरी १० बुँदे कार्यान्वयन प्रस्तावसम्बन्ध स्थायी कमिटीको निर्णय अनुमोदन गर्नेछ। साथै, बैठकले पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे समेत निर्णय गर्नेछ।

आजको बैठकमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल हुने अजेन्डा तय भएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।