काठमाडौं- मन्त्रिपरिषद् विस्तारका लागि अझै केही दिन लाग्ने भएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दर्ता सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि बताएको भएपनि विस्तारका लागि समय लाग्ने भएको हो।
बुधबार निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका नेताहरुको सनाखत गर्दै पार्टी दर्ताको प्रमाणपत्र दिएको छ।
नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ।
भदौ ३ गते आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए। ‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ’, प्रचण्डले भनेका थिए।
तर, उनले भनेको जस्तो 'लगत्तै' सरकार विस्तारको सम्भावना कम देखिएको छ। प्रचण्ड यतिबेला चितवनमा रहेका छन्। उनी फर्किएपछि मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सक्ने प्रचण्डको सचिवालयको भनाइ छ। 'प्रचण्ड चितवनमा हुनुहुन्छ। उहाँ फर्किएपछि, अबको एक दुई दिनमा मन्त्रिपरिषद् बिस्तार हुनसक्छ' प्रचण्डको सचिवालयको भनाइ छ।
जनता सामाजवादी पार्टी(जसपा) का नेता मोहम्मद इस्तियाक राईले भने मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन लाग्ने बताए। आफूहरुको पार्टीको प्रदेश स्तरको अभिमुखिकरण अभियान चलिरहेको बताउँदै उनले मन्त्रिपरिषद् विस्तारका लागि केही समय लाग्ने बताए।
'हाम्रो पार्टीको प्रदेश स्तरको अभिमुखिकरण अभियान चलेको छ। मन्त्रिपरिषद विस्तार १५ गतेभित्र हुन्छ होला,' उनले भने, 'नेकपा एकीकृत समाजवादीले भर्खरै दलको मान्यता पाएको छ। पार्टीको बैठक बस्छ होला। त्यसैले बिस्तार हुन समय लाग्छ।'
उनले गठबन्धनका शीर्ष नेताहरु बसेर मन्त्रालयको भागबण्डा टुंग्याएपछि मन्त्रिपरिषद् विस्तार हुने बताए।
साउन २९ गते प्रधानमन्त्री बनेका देउवा माओवादी केन्द्रबाट दुई र कांग्रेसबाट दुई जनालाई मन्त्री बनाएका थिए। पछि उनले स्वास्थ्य राज्मन्त्रीमा उमेश श्रेष्ठलाई थप गरेका थिए। जसको चर्को आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।