काठमाडौं– स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ। मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।
सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कूल चेन’ र ‘सुपर कूल चेन’ को भण्डारण क्षमता बढाउन थालिएको शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले बताए।
नियमित रुपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ। नेपालमा लक्षित सबै वर्गलाई लगाउनका लागि कुल ५ करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ। अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ।
नेपालले ल्याउने तयारी गरेको मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने भएकाले ती खोपलाई आवश्यक तापक्रम अनुसारको भण्डारण क्षमता बनाइने तयारी गरिएको उनले बताए। ती खोपका लागि आगामी अक्टोबर महिनासम्म भण्डारण क्षमता विस्तार गरिसक्ने उनको भनाइ छ।
मोडर्नाका लागि सुपर कूल चेन र फाइजरका लागि अल्ट्रा कूल चेनका भण्डार आवश्यक पर्छ। कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भएपनि अत्यधिक चिसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको बताए।
फाइजर खोप ७० देखि ८० डिग्रिसेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ। त्यसपछि दुई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने सकिने उनको भनाइ छ।
मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौँमा मात्र भण्डार गर्न सकिने उनको भनाइ छ।मोडर्ना र फाइजर दुवै खोप अमेरिकाबाट ल्याइने भएको छ। मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप पुस महिनाभित्रमा ल्याइने सरकारको तयारी छ।
अहिले खोपलाई विभागकै भण्डारणमा राखेर प्रदेशमा पठाइने गरिएको छ। सरकारले असोजमसान्तसम्म एक करोड दुई लाख मात्रा र आगामी चैतसम्म तीन करोड २३ लाख मात्रा खोप अनुदान र खरिद गरेर ल्याउने तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।