बुधबार निर्वाचन आयाेगमा सनाखत गराएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल
काठमाडाैं– नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले अन्तत: बुधबार वैधानिकता पाएको छ। आयोगमा ३० सांसद र ५६ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गरेपछि निर्वाचन आयोगले उनीहरुलाई दल दर्ताको प्रमाणपत्र उपलव्ध गराएको हाे।
निर्वाचन आयोगमा माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीले तत्कालीन एमालेका ३३ सांसदलाई सशरीर आयोगमा उपस्थित गराएको थियो। वरिष्ठ नेता झलनाथ खनालले भारतको राजधानी दिल्लीबाट सनाखत गराएका थिए। उपस्थितमध्ये चार जनाले मान्यता पाएनन्।
राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी विभाजनका लागि २० प्रतिशत भए पुग्ने व्यवस्था भएपछि नेपाल पक्षले नयाँ पार्टीको निवेदन दिएको थियाे। नयाँ पार्टी गठन हुँदा एमालेतिर रहेको तर मंगलबारमात्र एकीकृत समाजवादीमा लाग्ने भन्दै निर्वाचन आयोग पुगेको सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र सरलादेवी भट्टको सनाखतलाई मान्यता नदिने निर्णय आयोगले गरेकाे थियाे।
अलग्गै सनाखत गराएको आयोगले पदाधिकारी बैठकपछि एकै पटक हस्ताक्षर गर्नेलाई मात्र मान्यता दिँदा उनीहरु छुटेका हुन्। योसँगै उनीहरु अब नेपालको पार्टीमै बस्ने कि एमाले फर्कने भन्ने प्रश्न उठेको छ। उनीहरु एमालेमा नफर्की एकीकृत समाजवादीमै रहेमा उनीहरुले सांसद पद गुमाउनुपर्नेछ। हाल कायम रहेको पार्टी त्याग गरेमा उनीहरुको सांसद पद रिक्त हुनेछ।
राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसार उनीहरुले सांसद पद गुमाउनेछन्। माओवादी केन्द्रबाट एमालेमा लागेपछि लेखराज भट्ट, रामबहादुर थापाहरुले झै उनीहरुले सांसद पद गुमाउनुपर्नेछ। उनीहरुको हकमा एकीकृत समाजवादीले सर्वोच्च जाने बताएको छ। सर्वोच्चले उक्त सनाखतलाई मान्यता दिन आदेश गरेमा उनीहरुको सांसद पद जोगिनेछ अन्यथा उनीहरु पदमुक्त हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।