काठमाडौं- निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दर्ताको प्रमाणपत्र प्रदान गरेकै दिन उक्त पार्टीका अध्यक्ष माधव नेपाललाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटेका छन्।
चौथाइवालेले बुधबार राति सामाजिक सञ्जालमार्फत् नेपालसँग भेटेको जानकारी दिएका हुन्। 'काठमाडौंमा मेरो अन्तिम भेट वरिष्ठ कम्युनिस्ट नेता तथा नेपालका पूर्वप्रधानमन्त्री माधव नेपालजीसँग साँझ भएको थियो,' उनले लेखेका छन्, 'द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा फलदायी छलफल भयो।'
आयोगका सचिव सुरेश अधिकारीले बुधबार नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन्।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ बमोजिम दल दर्ता गरी दर्ताको प्रमाणपत्र समेत प्रदान गरेको छ।
चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्तासँग भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।