काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) का नेता हृदयेश त्रिपाठी आगामी निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हमा चुनाव लड्ने भएका छन्।
एमाले महासचिव ईश्वर पोखरेलसँग उनी लगायत पाँच जनाले सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेका हुन्। सूर्य चिन्ह लिएर चुनाव लड्न राजी हुनेमा कपिलवस्तुका विके गुप्ता, बाँकेका पशुपति दयाल मिश्र, कपिलवस्तुकै ईश्वर दयाल मिश्र र बाँकेका जगदीश शुक्ला छन्।
त्रिपाठी लगायत पाँचै जनाले स्वतन्त्र राजनीतिक समूहका रुपमा चुनाव लड्नेछन्। एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईले स्वतन्त्रको हैसियतमा एमालेको चुनाव चिन्ह लिएर चुनाव लड्न निर्वाचनको वर्तमान कानुनले नरोक्ने भएकाले यस्तो सहमति गरेको बताए। उनले भने, ‘एमाले भइसकेको भन्न मिल्दैन। स्वतन्त्रको हैसियतमा एमालेको चिन्हमा चुनाव लड्नुहुनेछ।’
उनले राष्ट्रवादीलाई एकै ठाउँमा उभ्याउने एमालेको लक्ष्य रहेकाले पहिलाे पहल स्वरुप त्रिपाठीकाे समूहसँग मधेसमा गठबन्धनकाे सहमति भएको बताए।
राजपासँग असन्तुष्ट त्रिपाठी लगायतका नेताहरुको स्वतन्त्र उम्मेदवारका रुपमा सूर्य चिन्हबाट चुनाव लड्ने सहमतिलाई निकट भविष्यमा एमाले प्रवेशको तयारीका रुपमा विश्लेषण गरिएको छ।
केही समयदेखि राजपामा निस्क्रिय जस्तै रहेका त्रिपाठीले आफू निकट नेता-कार्यकर्तालाई स्वतन्त्र राजनीतिक समूहका रुपमा संगठित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।