काठमाडौं– निर्वाचन आयोगले एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको पार्टी, नेकपा (एकीकृत समाजवादी) लाई दर्ता गर्ने निर्णय गरेको छ।
आयोगले केही बेर अघि यस्तो निर्णय गरेको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ता गरेर प्रमाणपत्र दिने निर्णय भएको बताए।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ बमोजिम दल दर्ता गरी दर्ताको प्रमाणपत्र समेत प्रदान गरेको छ।
नयाँ दर्ता भएको दलको केन्द्री कार्यलय काठमाडौंको नयाँ बानेश्वरमा हुने विवरण निर्वाचन आयोगमा उल्लेख गरिएको छ।
नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि माधव नेपालसहित एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसद्ले निर्वाचन आयोगमा पुगेर सनाखत गराएका थिए।
एमालेका अन्य ४ जना सांसदहरुले समेत नयाँ पार्टीको पक्षमा रहेको भनेर निवेदन दिए पनि आयोगले उनीहरुलाई भने सनाखतमा समावेश गरेन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।