काठमाडौं– नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी दर्ता हुन नदिन अनेकौं प्रलोभन, दबाब, डर र त्रासको प्रयोग गरिएको बताएको छ। तर, त्यसका बाबजुद एमालेका ५९ जना केन्द्रीय सदस्य र ३४ जना सांसद निर्वाचन आयोगमा सशरीर उपस्थित भएको उसले जनाएको छ।
बुधबार साँझ सो पार्टीको आधिकारिक फेसबुक पेजमा जारी सन्देशमा भनिएको छ– 'कम्युनिस्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी) गठन गर्न हामीले २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थियौं।'
उक्त सन्देशमा आज (बुधबार) संघीय संसदका ३४ जना संघीय सांसद र नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भएका जनाइएको छ।
'अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै उभिँदै बिद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,' नेकपा एकीकृत समाजवादीको फेसबूक सन्देशमा भनिएको छ।
सन्देशमा कम्युनिस्ट आन्दोलनलाई 'पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा' सहभागी हुन सबैमा अपिल गरिएको छ।
'अब यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षाअनुसार नेपाली कम्युनिस्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एवम् मुलुक र जनताको समृद्धीको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने यस ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपिल गर्दछौं,' सन्देशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।