काठमाडौं– निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएर सनाखत गराएकाहरुको सन्दर्भमा अध्ययन भइरहेको जनाएको छ।
नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निवेदन दिएर सनाखत गराएकाहरुको सन्दर्भमा अध्ययन भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार सनाखत गराउनेहरुको सन्दर्भमा अध्ययन सकिएपछि मात्रै नयाँ दल दर्ताको प्रमाणपत्र प्रदान गरिने छ।
'अहिले अध्ययन भइरहेको छ। आज (बुधबार) अध्ययन सकियो भने आजै प्रमाणपत्र प्रदान गरिन्छ,' श्रेष्ठले भने, 'अध्ययनका लागि समयअभाव भए अर्को दिन प्रमाणपत्र दिइन्छ।'
नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि माधव नेपालसहित एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसद्ले निर्वाचन आयोगमा पुगेर सनाखत गराएका छन्।
एमालेका अन्य ४ जना सांसदहरुले समेत नयाँ पार्टीको पक्षमा रहेको भनेर निवेदन दिए पनि आयोगले उनीहरुलाई सनाखतमा समावेश गरेको छैन।
यस्तै, जनता समाजवादी पार्टी विभाजन गरी महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।