काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटेको नभइ 'ओली प्रतिगमनका मतियारहरू' मात्रै छुट्टिएको बताएका छन्।
जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेशस्तरीय पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओलीको 'टाँङमुनि छिरेकाहरू' पार्टीबाट छुट्टिएको टिप्पणी गरे।
‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भए। हिजो पनि उनीहरूको दाउ मन्त्री मात्र बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ,’ यादवले भने।
अध्यक्ष यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै नै सरकारमा सहभागी हुने पनि बताए।
‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको अजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं,’ यादवले भने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिटलर जस्तै निर्वाचित तानाशाह बन्न खोजेकोले उनको पतन भएको यादवले टिप्पणी गरे। ‘लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेर ओलीले ढोँगी राष्ट्रवादको खोल ओढेका थिए। तर, त्यसको केही दिनमै नक्कली राष्ट्रवाद उदांगियो,’ यादवले भने।
संविधान संशोधनको लागि सहकार्य गरेको बताउँदै अध्यक्ष यावले संशोधन नगर्ने नियत बुझेपछि ओलीसँगको सहकार्य अन्त्य भएको बताए।
अध्यक्ष यादवले ओलीको इसारामा लाग्दा अहिले महन्थ ठाकुरसहित उनी पक्षमा लागेकाहरूको बेहाल भएको टिप्पणी गरे।
'महन्थलाई प्रधानमन्त्री बनाउँछु भनेपछि मानेका थिए । कांग्रेस पनि सकारात्मक थियो । त्यो सम्भव थियो । तर महन्थ हस्ताक्षर गरेको २ घण्टामै सहमति तोडेर भागे,' यादवले भने, 'अरुको इशारामा ओलीपथमा लाग्दा आज बेहाल भयो। आज निर्वाचन आयोगमा गुट दर्ता गर्न पुगेका ठाकुर समूहबाट मधेसको मुद्दा पार लाग्छ भन्नु भ्रम सिवाय अरु होइन।'
कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता अशोक कुमार राईले नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बढेर गएकोले जनता समाजवादी पार्टीले नेपाली राजनीतिलाई केलाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।
'हिन्द–प्रशान्त रणनीतिको ज्वाराभाटले हामीलाई छुनेवाला छ । नेपालमा सहज राजनीति हुने छैन । नेपाली राजनीति अहिले फुकीफुकी पाइला चाल्नु पर्ने अवस्थाबाट गुज्रिरहेको छ,' राईले भने।
प्रतिगामी ओली कदमसँग आमनेसामने हुँदै आउँदा ओली प्रवृत्तिको पतन भएको भन्दै उनले नयाँ सरकार र नयाँ प्रवृत्तिको जन्म भएको बताए।
कार्यक्रममा बोल्दै नेता महेन्द्र राय यादवले जसपाको एकतालाई ऐतिहासिक संज्ञा दिए। उनले पार्टी विरोधी तथा एकता नचाहने तत्व मात्रै बाहिरिएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।