काठमाडौं– बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित एमालेको पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको दुईतिर थिए, युवराज ज्ञवाली र भीम रावल। लामो समयदेखि आफ्ना विरोधीका रुपमा रहेका ज्ञवाली र रावल मात्रै होइन, माधवकुमार नेपाललाई छाडेर ओलीलाई साथ दिन आइपुगेका स्थायी कमिटीका अन्य सदस्यहरुलाई पनि मञ्चमा राखेर यो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रम सञ्चालन गरेका योगेश भट्टराई र ओलीको वक्तव्य वाचन गरेका प्रदीपकुमार ज्ञवाली बाहेक अन्यले बोल्ने कार्यक्रम थिएन। तर, ठूलो समूहलाई आफ्नो वरिपरि राख्दै ओलीले पत्रकारहरुको प्रश्नको जवाफ दिए, आफ्नै शैलीमा। विपक्षीलाई गालीगलौज गर्नु र उनीहरुको खिल्ली उडाउनु ओलीको सदाबहार शैली नै हो। उनले सभामुख अग्निप्रसाद सापकोटा, एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाल तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गरे। सभामुख सापकोटाप्रतिको प्रहार केही कडा थियो।
यसअघिका सम्बोधनहरुमा पनि ओलीले आफ्ना विगतका कतिपय विवादित कदमको बचाउ गरिरहेका हुन्थे। सँगै, पार्टीभित्रैको ठूलो पंक्तिले त्यसको भर्त्सना पनि गर्दै आएको थियो। त्यसमध्ये एउटा समूह विभाजित भएको र अर्को समूह आफैंमा विलय भएको स्थितिमा ओलीले अर्थपूर्ण पत्रकार सम्मेलन आयोजना गरेका हुन्। जहाँ उनले आफ्ना निकै विवादित बनेका कदमहरुबारे चर्चा गर्दै तिनको बचाउ गर्ने भरमग्दुर प्रयत्न गरे। अर्थात् हिजो आफ्ना प्रखर बिरोधी रहेका नेताहरुलाई दायाँ र बायाँ राखेर ओली, आफूले विगतमा चालेका कदम ठीक थिए र त्यसमा आफ्नो पार्टी एकमत छ भन्ने सन्देश दिन सफल देखिए।
ओलीको वक्तव्य वाचन गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने- 'हामीले हिजो ठूलो विश्वास र भरोसाका साथ नेकपा एमाले र नेकपा माकेबीच पार्टी एकीकरण गरेका थियौं। यो २०२८ सालदेखि नै झापा आन्दोलन र केन्द्रीय न्युक्लियसका रुपमा दुई भंगालोमा बाँडिएका आन्दोलनका दुई धारबीचको एकता थियो, कम्युनिस्ट आन्दोलनका अग्रजहरुको अधुरो सपनाको कार्यान्वयन थियो। तर, केही व्यक्तिका उग्र महत्त्वाकांक्षा, विभाजनकारी सोच, अस्थिर चरित्र तथा कब्जा तथा उपयोगको नीतिका कारण उक्त एकीकरण निष्कर्षमा पुग्न सकेन।'
यी वाक्य मूलतः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र आंशिक रुपमा माधवकुमार नेपालप्रति लक्षित थिए। तर, नेकपाकालको अन्तिमतिर प्रचण्ड-नेपाल र पछिल्लो महिना नेपालतिर रहेका नेताहरुले नै भन्दैआएका थिए कि ओली कम्युनिस्ट आन्दोलन समाप्त पार्न दृढ ढंगले अघि बढेका छन्। उनीहरुले सार्वजनिक रुपमै भनेका थिए– ‘ओलीले पार्टीको झन्डै दुई तिहाइ बहुमत समाप्त पारे, एकीकृत नेकपालाई समाप्त पारे र एमाले पनि समाप्त पार्ने दिशातिर अघि बढिरहेका छन्।’ तर, उनीहरुले विगतका आफ्ना धारणामाथि पुनर्विचार गर्न नपाउँदै ओलीले उनीहरुलाई साथमै राखेर नेकपाको एकता निष्कर्षमा पुग्न नसक्नुमा आफू नभई प्रचण्ड र माधव नेपालका प्रवृत्ति जिम्मेवार रहेको घोषणा गरे।




ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँग सम्बन्धित ओलीको धारणा छ- 'अदालतको परमादेशबाट शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन अवरुद्ध गरिएको, दलीय प्रणालीका आधारभूत संरचनाहरुमाथि प्रहार गर्दै निर्दलीय अभ्यास सुरु गरिएको तथा यसबाट संविधानको आधारभूत प्रस्थापनामाथि नै आँच पुर्याइएको बारेमा हामीले पार्टीको दृष्टिकोण सार्वजनिक गरिसकेका छौं।'
प्रतिनिधि सभा विघटनका विरुद्ध अहिले ओली पक्षमा लागेका नेताहरुले पनि सर्वोच्च अदालतमा लाइन लागेर निवेदनमा हस्ताक्षर गरेका थिए। फैसलालाई पनि स्वागत गरेका थिए। तर, ओलीले यसअघि उनी पक्षको एमालेको बैठकबाट गरेको निर्णयलाई निरन्तरता दिएका छन्। ओली नेतृत्वको एमालेले सर्वोच्चको फैसलालाई दशकौं लामो संघर्ष, दलीय आस्थाका लागि चुकाएको मूल्य र दलीय प्रणालीको आधारभूत प्रस्तावनामाथिकै प्रहार भएको निष्कर्ष निकालेको थियो। 'निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको अप्रत्यक्ष संशोधन गरेको छ', साउन १ गतेको केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ।
एमालेले सर्वोच्चको फैसलाको देशव्यापी भण्डाफोर गर्ने निर्णयसमेत गरेको थियो।
सर्वोच्चको फैसलाप्रति ओली पक्षबाट आइरहेका संयमित/असंयमित, लिखित/मौखिक धारणाले अहिलेको परिस्थितिमा पनि अपनत्व ग्रहण गरेको बुझ्न सकिन्छ।
ओलीले २०७७ वैशाख ८ गते ल्याएको अध्यादेश पनि उनको पार्टीभित्र र बाहिर निकै आलोचित भएको विषय थियो। ओलीकै पार्टी अर्थात् तत्कालीन नेकपाका नेताहरुले नै ओलीको त्यो कदमबाट देशले संविधानसभामार्फत हासिल गरेका सारा उपलब्धिहरुलाई उल्ट्याउने प्रयत्न भएको बताएका थिए। त्यो प्रयास पुस ५ मा प्रतिनिधि सभा विघटनपछि झनै प्रष्ट भएको उनीहरुको भनाइ थियो। ओलीले बुधबारको पत्रकार सम्मेलनमा आफूले ल्याएको अध्यादेशको बचाउ त गरे नै, पुस ५ मा प्रतिनिधि सभा विघटन गर्नु ठीक थियो भन्ने दोहोर्याए। अहिलेको प्रतिनिधि सभाले काम गर्न नसक्ने र नयाँ निर्वाचनमार्फत नयाँ प्रतिनिधि सभा नआउँदा देशको समय बर्बाद भइरहेको छ भन्ने उनको पुरानै भनाइलाई पनि दोहोर्याए। 'तपाईंहरु भन्नुस् त, पुस ५ गतेयता पार्लियामेन्ट चलेको छ? पार्लियामेन्टले माखो मार्न सकेको छ? पुसदेखि अहिलेसम्म लगभग नौ महिना देशको अमूल्य समय बर्बाद भइरहेको छ', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।