काठमाडौं- एमालेबाट विभाजन भएर दर्ताको प्रकृयामा रहेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले आफूहरुलाई दल दर्ता भइसकेको जानकारी गराएको बताएका छन्।
'निर्वाचन आयुक्तहरुसँगको भेटमा अब दर्ता भएको छ, हामी केही प्रक्रिया मिलाउँछौ भन्नु भएको छ,’ बुधबार दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता पाण्डेले भने, 'दल दर्ता भइसक्यो, दुई घण्टापछि हामी बोलाउँछौँ भन्नु भएको छ। आजै प्रमाणपत्र पाउनेमा आशावादी छौँ।’
समाजवादीतर्फ लाग्ने भनि एमाले छोडेर आएका चार जनाको सनाखतले मान्यता नपाएको विषयमा आयुक्तहरुसँग कुरा भएको र वैठकपछि एउटा निर्णय दिने आश्वासन पाएको उनले बताए। ‘केही प्राविधिक समस्या भएका कारण वहाँहरुको आउन ढिलो भयो हो,’ उनले भने, ‘हिजै निवेदन दिएकाले चार जनाको मान्यता पाउनुपर्ने प्रष्ट कुरा राखेका छौं। आशा छ आयोगले मान्यता दिन्छ।’
५८ जना केन्द्रिय सदस्यमध्ये २ जनाको हस्ताक्षर नभएकाले ५६ जना भएको उनले बताए। अब कसरी अघि बढ्नुहुन्छ भनि पत्रकारले सोधेको प्रश्नमा उनले आफूहरुले बनाएको समान्तर कमिटी ब्युताउँदै संगठन विस्तार गर्ने बताए। ‘वडास्तरसम्म संगठन विस्तार गर्छौ। पार्टीका तर्फवाट भविष्यका कार्यक्रम अब केही दिनमा सार्वजनिक गर्छौ,’ उनले भने, ‘केही दिनमा राष्ट्रिय सम्मेलन गर्छौ।’
एमालेसँगको सहकार्य कस्तो हुन्छ? भन्ने प्रश्नमा उनले भने, 'वहाँहरु कसरी आउनुहुन्छ, हामी त्यस अनुसार जान्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।