काठमाडौं– पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई 'सचेत' गराएका छन्। दलका नेताको अहमतका कारण संविधानमाथि नै प्रश्न उठाउने काम भएको पनि पूर्वप्रधानन्यायाधीशहरुको चिन्ता छ।
पूर्व प्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीले दलका नेताहरुको अहमताका कारण संविधान माथि नै प्रश्न उठाउने काम भएको बताएका हुन्।
नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराए। संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको समेत श्रेष्ठले आरोप लगाए।
'संविधानमाथि राजनीति भयो, संविधानलाई जुन ढंगले गम्भीरतापूर्वक लिने हो, त्यो लिएको जस्तो हामीलाई लाग्दैन, सत्ता कब्जा गर्ने दृष्टिकोण अहम् रह्यो,' श्रेष्ठले भने, 'संविधानले कायम गरेका कुराहरुमा आवद्ध रहने क्रम अलिकम रह्यो।'
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालाको नमूना जस्तो भएको बताइन्। संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमूना जस्तो राजनीति दलहरुले गरिरहेको भन्दै कार्कीले असन्तुष्टि व्यक्त गरिन्।
अहिलेको राजनीतिमा सबै मै हुँ भन्ने अहंकार र आफ्नो दलको नेताहरुलाई समेत मिलाउन नसकेर दलमा कोलाहल पैदा भइरहेको पूर्व प्रधानन्यायाधीश कार्कीले टिप्पणी गरिन्।
'राजनीति वा देशको शासन कुनै एउटा दलले चलाउँछ भने त्यो दलले एउटा नमूना, उदाहरण बनेर कसरी मुलुकलाई सञ्चालन गरेर जाने, कसरी राम्रो भन्दा राम्रो काम गर्दै लिएर जाने भन्ने हुन्छ, तर यहाँ त भताभुङ्ग, राजाको नमूना जस्तो भयो,' कार्कीले भनिन्, 'आफ्नै दलभित्र पनि कोलाहल, दलका नेताहरुलाई मिलाउन नसक्ने, जे कुरा पनि आफैँ मै हुँ भन्ने खालको अहमता, प्रवृत्ति देख्यौं।'
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दाबी गरिन्। सांसदहरुले धारा ७६(५) अनुसार आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको भुसालले दाबी गरिन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको बताए। संविधानको धारा ७६ बनाउँदा कुन हिसावले संविधान लेखिएको थियो त्यसको स्पष्टता आवश्यक रहेको भट्टराईले बताए।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनले संविधानको नेतृत्व गर्ने दलहरु नै संविधान कमजोर पार्न लागि परेको बताए। पहिला संविधानको विरोध गर्नेहरुले अहिले संविधानको रक्षा गरेको, तर संविधानको नेतृत्व गर्नेहरु विरोधमा उत्रिरहेको पुनले टिप्पणी गरे।
कार्यक्रममा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई, राधेश्याम अधिकारी, नवराज सिलवाल, धर्मशिला चापागाईं, रमेश पौडेल, विपिन अधिकारी, इन्दु तुलाधर, लक्ष्मी परियार, बहादुर सिंह लामा, धर्मराज ज्ञवाली र प्रकाश पन्त लगायतले लोकतन्त्रको स्थिती कमजोर रहेको र राजनीतिक दलका संस्थागत निर्णयभन्दा व्यक्तिगत स्वार्थपूर्तिका लागि संविधानको आफ्नै तरिकाले व्याख्या गरिरहेको धाराणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।