काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई मैदान लड्ने हिम्मत नभएका भनेका छन्। बुधबार निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुले त्यो आँट गरेको बताए।
'सबै मान्छेहरु युद्धको मैदानमा लडाइँ लड्ने हिम्मत राख्दैनन्। थोरै मान्छेले मात्रै त्यो आँट राख्नेरहेछन्। त्यो आँट माधव नेपालको नेतृत्वमा हामीले गर्यौं', उनले भने।
उनले अबको चार महिनामा आफ्नो पार्टी ठूलो हुने बताए। 'मुलुकमा एकीकृत समाजवदी पार्टी चार महिनामा सबैभन्दा ठूलो पार्टी बन्दैछ। यही पार्टीको वरिपरि राजनीति अगाडि बढ्छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, विप्लव, मोहन वैद्य लगायतका सबै कम्युनिस्ट राजनीतिक दलहरुको बीचमा एकता हुन्छ। छलफल अगाडि बढिसकेको छ। यसलाई टुंग्याउने प्रक्रियामा हामी छिर्छौं', उनले भने।
चौधरीले केपी ओली एमालेको अध्यक्ष रहँदासम्म आफूहरुको सहमति, सहकार्य र एकता नहुने स्पष्ट पारे।
उनले आफूहरुले अपेक्षा गरेका भन्दा धेरै केन्द्रीय सदस्य र सांसद्हरुको सनाखत भएको बताए। उनले ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसद्को हस्ताक्षर भइसकेको बताए। चार जना केन्द्रीय सदस्य र चार जना सांसद्को हस्ताक्षर थपिन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।