काठमाडौं- निर्वाचन आयोगले नेकपा (एमाले) विभाजन गरी नयाँ पार्टी दर्ताका लागि ३० जना सांसदको सनाखत गरेको छ। माधवकुमार नेपाल पक्षले दर्ताका लागि निवेदन दिएको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखतका लागि २९ जना सांसद आयोगमा पुगेका थिए भने वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीबाटै सनाखत गरिएको छ।
सनाखतकै लागि आयोगमा पुगेका चार जना सांसदको भने सनाखत भएको छैन। सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा भट्ट आयोगमा उपस्थित भए पनि सनाखत हुन बाँकी छ। उनीहरुको सनाखत भए एकीकृत समाजवादीमा सांसदको संख्या ३४ पुग्नेछ। यसरी थप हुँदा २० प्रतिशतको सीमासमेत पार हुनेछ।
आयोगमा उपस्थित चार जनाको पनि सनाखत गराउनेबारे छलफल भइरहेको एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बताए। केन्द्रीय सदस्यतर्फ ५५ जनाको सनाखत भएको उनले बताए।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नयाँ दल दर्ताका लागि सांसद वा केन्द्रीय समितिमध्ये कुनै एकमा २० प्रतिशत भए हुने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।