फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षको चन्द्रागिरिमा बसेको बैठकलाई अपहरणकारी कामको संज्ञा दिएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले घरघरबाट मान्छे टिपेर रिसोर्ट पुर्याइएकाे बताए।
'यहाँ वर्तिरपर्तिर होइन। उहाँ टाकुरामा लगेर तीन दिनदेखि थुनेर, यहाँबाट ढोक्सेमा हालेर, ढोक्सेमा हालेपछि माछा उम्किन पाउँदैन। त्यो ढोक्से निर्वाचन आयोगमा लगेर खन्याउने काम भयो। यो काम के लोकतान्त्रिक हुन्छ? वास्तवमा भन्ने हो भने यो बलजफ्ती, अपहरणकारी, ज्यादतीपूर्ण काम हो,' उनले भने
गठबन्धनको भएकाले सञ्चार माध्यमले पनि बैठक लेखिदिएको भन्दै ओलीले असन्तुष्टि जनाए। 'बैठक भइरहेको थियो त्यहाँ?,' उनको प्रश्न थियो, 'बैठक भनेको एक लेभलको हुन्छ। कि सांसदकाे हुन्छ। कि स्थायी कमिटीको हुन्छ। कि केन्द्रीय कमिटीको हुन्छ। कुन कमिटीको बैठक भइरहेको थियो त्यहाँ? पार्टीका साधारण सदस्यदेखि लिएर आफूलाई अध्यक्ष भनेर दर्ता गरेका मान्छेसम्म त्यहाँ छन्। कस्तो बैठक बसेको हो? साधारण सदस्यदेखि लिएर त्यो तहका मान्छे भएको बैठक हुन्छ? कुनै बैठक होइन। मान्छे घेराबन्दी गरियो। घरघरबाट तानियो, लगियो। बाध्य बनाइयो।'
उनले रिसोर्टमा कुटपिट गरेको र भोकै राखेको नभए पनि थुनिएकै हो भन्ने कुरा पटकपटक दोहोर्याए। 'सुनकै पिञ्जडा भए पनि यदि पिञ्जडामा हालियो भने पिञ्जडै हो। त्यसरी मान्छे घरघरबाट तानेर लगेर त्यहाँ थुनिएको कुरा, त्यो थुनिएकै हो। चाहे सुनकै पिञ्जडामा थुनिएको होस्। चाहे भव्य रिसोर्टमा होस्। चाहे फाइभ स्टार र सेभेन स्टारमा होस्। थुनिएकै हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।