फाइल तस्बिर काठमाडाैं– छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघको सोमबार बसेको कार्यसम्पादन बैठकले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
संघका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङका अनुसार यो च्याम्पियनसिप आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहनेछ। ‘संघले क्लब च्याम्पियनसिपका लागि सरकारसँग स्वीकृति लिने र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल बुक गर्ने तयारी गरेको छ,’ उनले भने, ‘कोरोना महामारीको भय कायमै रहेका कारण खेल दर्शकविना हुन सक्नेछ।’
यस्तै, संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ। यसपटक च्याम्पियन हुने टोलीले ४ लाख रुपैयाँ हात पार्नेछ। दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन्। गत वर्ष चैतमा भएको क्लब लिगको विजेताले ३ लाख रुपैयाँ हात पारेका थिए।
पाँचौ संस्करणमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो। त्यस्तै, लिग च्याम्पियनसिपमा भने हेल्प नेपाल र न्यू डायमन्ड च्याम्पियन बनेका थिए।
यसपटक च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन्। हरेक विधामा उत्कृष्ट हुनेले जनही १० हजार रुपैया प्राप्त गर्नेछन्।
यसपटक च्याम्पियनसिपमा सहभागी हुने टोलीले खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने अध्यक्ष गुरुङले जानकारी दिए। यसअघि संघले केही खर्च व्यवस्थापन गर्ने गरेको थियो। यस्तै, हरेक टोलीले बढीमा ३ विदेशी खेलाडी राख्न पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।