काठमाडाैं– जनता समाजवादी पार्टीबाट अलग भएर निर्वाचन आयोगमा दर्ताका लागि सनाखत गर्न पुगेको समाजवादी लोकतान्त्रिककाे कार्यकारिणी सदस्यका रुपमा रेशम चौधरीको जेलबाटै सनाखत भएको छ।
कैलालीको टीकापुर घटनामा संलग्न रहेकाे आराेपमा केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीले सांसदको रुपमा भने सनाखत गर्न पाउने छैनन्। हाल उनी निलम्बनमा रहेकाले सनाखत गर्न नपाउने भएका हुन्।
उनले केन्द्रीय सदस्यका रुपमा मात्र सनाखत गरेको लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महताेले बताए। १५ जना सांसदको सनाखत गराउने भए पनि सांसद चौधरीले सांसदको रुपमा सनाखत गर्न नपाउने भएपछि १४ जनाले सनाखत गर्ने उनले बताए।
उनलाई पुरानो कार्यकारिणी सदस्यका रुपमा सनाखत गराइएकाे हो। चाैधरी राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। २०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनाको कारण उनी अहिले जिल्ला र उच्च अदालतको जन्मकैदको फैसला अनुसार कारागार जीवन बिताइरहेका छन्।
निर्वाचन आयोगले बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय तोकेको छ। आयोगले सशरीर सांसद तथा केन्द्रीय सदस्य उपस्थित हुन अनुरोध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।