काठमाडौं- नेकपा एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाल लगायतका नेताहरु निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन्।
माधवकुमार नेपालको नेतृत्वमा दल दर्ताका लागि दिएको निवेदनमाथि सनाखत गर्न निर्वाचन आयोगलाई बुधबार बोलाएको थियो। नेताहरु पुगेसँगै सनाखत सुरु भएको छ।
निर्वाचन आयोग पुगेका एकीकृत समाजवादीका नेताहरुले आफूहरुसँग ३१ जना सांसद् र ६२ केन्द्रीय सदस्य सशरीर निर्वाचन आयोगमा उपस्थित भएको दाबी गरेका छन्।
सोही पक्षमा रहेका झलनाथ खनाल भने उपचारका लागि दिल्लीमा छन्। उनको लागि आफूहरुले केही 'टेक्निक' अपनाएको निरा जैरुले बताइन्।
नेता जगन्नाथ खतिवडाले आफ्नो विचार समूहका दुई तिहाइ नेताहरु आफ्नो साथमा रहेको बताए। माधव नेपाल पक्षमा रहेका र अहिले केपी शर्मा ओली पक्षमा रहेका नेताहरुलाई आफूहरुले फिर्ता ल्याउने प्रयास नगर्ने बरु उनीहरु आफैं आउने खतिवडाको भनाइ छ।
सांसद र केन्द्रीय सदस्यको लाइन फरक-फरक राख्ने व्यवस्था गरेको छ। प्रस्तावित नेकपा(एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरुको सनाखत स्थल र संघीय संसद सदस्यहरुको सनाखत स्थल भनेर छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।