काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा माओवादी कार्यकर्ताको रुपमा प्रस्तु भएका आरोप लगाएको छ।
मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले एमालेले सांसदबाट कारबाही सिफारिस गरेका व्यक्तिहरुको बारेमा सभामुख सापकोटाले लामो समयसम्म निर्णय नगरेको भन्दै उनको भूमिकाप्रति आपत्ति प्रकट गरेको छ।
‘सभामुखको दोहोरो भूमिका देखियो। लेखराज भट्ट, प्रभु साह लगायतको रुपमा पत्र पाएलगत्तै तत्काल सांसद पदबाट निलम्वन भएको सूचना जारी गर्नुभयो,' मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'तर, अहिले माधव नेपालसहित १४ जनाको हकमा फरक ब्यवहार देखाउनुभयो।’
कसैको हकमा तत्काल सूचना निकाल्ने र एमालेले आधिकारीक रुपमा निर्णय गरेर दिएको कारबाही कार्यान्वयन नगरिएको भन्दै ज्ञवालीले सभामुखको भुमिका निष्पक्ष नभएको टिप्पणी गरे । ‘कि त भन्नुपर्यो देशमा दुई वटा कानुन छ। कि त उहाँले म सभामुख, हैन हिजोको युद्धकालीन माओवादी कार्यकर्ता हुँ भन्नु पर्यो,' ज्ञवालीले भने, 'एउटा पार्टीलाई लक्षित गरेर पूर्वाग्रहपुर्ण र संविधानले नदिने कार्य गर्नुभएको छ।’
सभामुख सापकोटाले संविधान र कानुनको बर्खिलाप काम गरेको पनि ज्ञवालीले आरोप लगाए। 'पार्टीले गरेको निर्णय रोक्ने अधिकार सभामुखलाई छैन र विगतको नजिरले पनि त्यो देखाउँदैन,' ज्ञवालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।