काठमाडौं- नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नयाँ दललाई अघि बढाउन चुनौती रहेको बताएका छन्।
भारतको नयाँ दिल्लीमा उपचाररत रहेका खनालले उक्त दलको केन्द्रीय कमिटीको बैठकमा टेलिफोनमार्फत् सम्बोधन गर्दै आफूहरुले लिएको बाटो सहज नभएको बताएका हुन्।
‘हामीलाई ठूलो चुनौती छ। बाटो सजिलो छैन। बाटो कठिनाइपूर्ण छ। काँडाहरु छन्, भीरपाखाहरु छन्,’ उनले भने। भीरपाखामा जन्मेर हुर्केकाहरुले ती चुनौतीको सामना गर्ने विश्वास उनले व्यक्त गरे।
दुई दिनदेखि चन्द्रागिरिमा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा खनालले फोनमा राखेका विचारः
अहिले हाम्रो पार्टीको अग्रगतिलाई जुन ढंगले रोकिएको छ, त्यसका विरुद्ध अहिले हामी विद्रोहको विन्दुमा आइपुगेका छौं। यो नवनिर्माणको लागि विद्रोह हो। यो नयाँ पार्टी निर्माणको लागि विद्रोह हो। हामीले ठीक वैचारिक र राजनीतिक दिशा लिनुपर्छ। प्राविधिक कुराले विद्रोह अगाडि बढ्दैन। विद्रोह भइरहेको बेलामा दक्षिणपन्थी अवसरवाद विभिन्न किसिमका जालझेल र षड्यन्त्र गरिरहेको हुन्छ भने क्रान्तिकारी मार्क्सवाद विद्रोहको झण्डा लिएर अगाडि बढिरहेको हुन्छ।
त्यस्तो बेलामा कहिलेकाहीँ दक्षिणपन्थी दृष्टिकोण र चिन्तनहरु जन्मिने गर्छन्। हाम्रो पार्टीका स्थायी कमिटीका धेरै सदस्यहरुलाई मध्यपन्थले अल्झायो। मध्यपन्थ पनि अवसरवादकै एउटा रुप हो। त्यसले अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई सघाउँछ। तर मध्यपन्थको आयू कहिल्यै पनि लामो हुँदैन। छोटो हुन्छ। हाम्रोमा मध्यपन्थ जन्मियो र करिब-करिब अन्त्य भयो।
यो पार्टीको दर्ता गर्नुका साथसाथै अब यो पार्टीको कार्यदिशा, नीति सिद्धान्त कार्यक्रम सबै हामीले जनवादी क्रान्ति पूरा गरिसक्यौं। अब जबजको युग सिद्धियो। अबको अवस्थामा जबज पुँजीवादी सिद्धान्त हो। त्यसलाई अनुशरण गर्न सकिन्नँ। हामी समाजवाद चाहन्छौं। अबको हाम्रो प्रस्ट कार्यक्रम भनेको समाजवादमा रुपान्तरणमूलक कार्यक्रम हो। युगअनुसारको बोली हामीले बोल्न सिक्नुपर्छ। युगअनुसारको कार्यक्रम हामीले निर्धारण गरेर जानसक्नुपर्छ।
केपी ओलीको आतंकबाट वामपन्थी पीडित छन्। उनको दमन बिर्सेका छैनन्। ओलीले संसद् विघटन गरेपछि दोस्रोपटक सर्वोच्चले गरेको फैसलालाई पुस्तिकाका रुपमा छपाएर राष्ट्रव्यापी बनाउनुपर्दछ। एमालेभित्र अल्झेर बसेका साथीहरुलाई सही बाटोमा ल्याउन हामीले सक्नुपर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।