काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको बैठकले विभाजनकारी गतिविधिमा नलगी पार्टीमा फर्किन आह्वान गरेको छ। मंगलबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विभाजनकारी गतिविधि त्यागेर आए स्वागत गरिने पनि आह्वान गरेको छ।
'आफ्नो मूल घरमा फर्किनुहोस्। विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्ने कमरेडहरुलाई पार्टीमा हार्दिक स्वागत गरिनेछ। यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने, भेदभाव वा कारबाही नहुने स्पष्ट पार्न चाहन्छौं', बैठकले पारित गरेको आह्वान सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले भने।
बैठकले विभाजनको असफलता अवश्यम्भावी रहेको पनि बताएको छ। 'नेकपा एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिरहनुभएका कमरेडहरुलाई हामी आग्रह गर्छौं, मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील रहँदै पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै असफलता अवश्यम्भावी रहेको त्यस्तो गलत र हानिकारक बाटो छोडेर पार्टी एकतामा आबद्ध हुनुहोस्', आह्वानमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।