काठमाडौं– नेकपा एमाले विभाजनको पक्षमा रहेका नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन्।
दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर सोमबार नेपाल फर्किन लागेका हुन्।
एमाले विभाजन गरी नयाँ दर्ताको प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई फोनबाट मंगलबार सम्बोधन गर्दै नेता खनालले आफू सोमबार स्वदेश फर्किने जानकारी दिएका हुन्।
कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।
नेकपा एमालेको आन्तरिक विवाद विभाजनको अवस्थामा पुगेपछि खनालले आफू नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी)को पक्षमा रहेको घोषणा गरिसकेका छन्।
एमाले विभाजन गरी एकीकृत समाजवादी गठनका लागि निर्वाचन आयोगले बुधबार नेताहरुको सनाखत समेत गर्न लागेको छ।
खनालले नयाँ पार्टी गठनका लागि दिल्लीबाट सनाखतका लागि निवेदन दिएका थिए। तर, निर्वाचन आयोगले भने आयोगमै सशरीर उपस्थित नहुनेलाई सनाखतमा समावेश गर्न नसकिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।