काठमाडौं– माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेपछि लुम्बिनी प्रदेश सभा सदस्य (सांसद)बाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश पन्थीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
आफूहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय खारेजीको मागसहित न्यौपाने र पन्थीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
माओवादी केन्द्रको उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नम्वर १ बाट निर्वाचित न्यौपाने र गुल्मी क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित न्यौपाने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भएपछि नेकपा एमाले (केपी शर्मा ओली पक्ष)मा लागेका थिए।
नेकपा विघटन भएपछि एमालेमा खुलेपछि न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले सांसद पदबाट कारबाही गरेको थियो।
माओवादी केन्द्रको उक्त निर्णयलाई चुनौती दिँदै उनीहरुले साउन ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यौपाने र पन्थी नेकपा(एमाले) का अध्यक्षले चैत १३ मा जारी गरेको अन्तरपार्टी निर्देशन–९ को मनोनयन शीर्षक अन्तर्गत १४ र १६ नम्बरमा नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य रहेको भन्ने देखिएको भन्दै सर्वोच्चले उनीहरुको हकमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ।
यही प्रकृतिको मागदाबी गर्ने प्रभु साह, लेखराज भट्ट, कुन्दन प्रसाद कुशवाह समेत भएको मुद्दामा अन्तरिम आदेश जारी नहुने गरी आदेश भएको पनि सर्वोच्चले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।