काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन्। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठक जारी छ।
पार्टी विभाजनसँगै गौतम कुन पक्षमा जान्छन् भन्ने विषयमा चर्चा चल्ने गरेको छ। निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन परेको भोलिपल्ट आफू पक्षका नेताहरुको बैठकमा केपी ओलीलाई साथ दिन नसकिने बताएका थिए। त्यसपछि उनी नेपाल नेतृत्वको नयाँ पार्टीतिर खुलेको बताइएको थियो। तर भदौ ६ गते उनको सचिवालयले गौतम एमालेमै रहेको भन्दै सूचना सार्वजनिक गरेको थियो।
पार्टी विवादमा लामो समयदेखि माधवकुमार नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यहरु पनि आजको बैठकमा सहभागी भएका छन्। युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले सोमबार दिउँसो ओली निवास बालुवाटार पुगेर उनीसँग सहमति गरेका थिए। सोही अनुसार उनीहरु बैठकमा सहभागी भएका हुन्। त्यसबाहेक अमृत बोहरा पनि बैठकमा सहभागी छन्। उनी अनुशासन आयोगका अध्यक्ष हुन्।
आजको बैठकले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार गर्ने भनिएको छ। त्यसका लागि ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेलको अनौपचारिका कार्यदल पनि बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।