काठमाडौं– ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा अलग्गिएका १० जना नेताहरु ८ महिनापछि ओलीले बोलाएको बैठकमा सहभागी भएका छन्।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्दा निर्णयमा साथ दिएका १० जना स्थायी कमिटी सदस्यहरु मंगलबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन्।

तत्कालीन नेकपामा प्रचण्ड–माधव समूह र सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलानुसार एमाले ब्युँतिएपछि माधव नेपाललाई साथ दिँदै समानान्तर गतिविधि गर्दै आएका उनीहरु सोमबार ओलीलाई आफ्नो 'माग'मा सहमत गराएर मंगलबार बैठकमा पुगेका हुन्।

पार्टी विवादमा लामो समयदेखि नेता नेपालको पक्षमा उभिँदै आएका नेताहरु युवराज ज्ञवाली, अमृत बोहोरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त मंगलबारको बैठकमा पुगेका हुन्।

त्यसअघि उनीहरुले सोमबार दिउँसो ओली निवास बालकोट पुगेर सहमति गरेका थिए।
सर्वोच्च अदालतको फैसलानुसार एमाले ब्युँतिएपछि ओलीले आफ्नो अनुकूलतामा आफू पक्षको बैठक राख्दै आफूलाई सहज हुने निर्णय गर्दै आएका थिए। मंगलबारको बैठकमा पुगेका १० जना नेताहरुले पनि नेता नेपालको नेतृत्वमा समानान्तर बैठक गर्दै आएका थिए।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।