काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका छन्।
'प्रिय कमरेडहरु! स्थायी कमिटीको आजको बैठक प्रारम्भ हुन्छ। सबै कमरेडहरुलाई आजको बैठकमा म स्वागत गर्दछु। आजको स्थायी कमिटी बैठकमा नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्रीलाई बधाई ज्ञापन गर्न चाहन्छु। उहाँले नेपालको संघीय प्रणालीको पहिलो मुख्यमन्त्री हुने मौका पाउनुभएको छ', ओलीले बैठकको उद्घाटन गर्ने भनेका थिए।
उनले बागमती प्रदेशमा अत्यन्तै सहज रुपमा पार्टीको संसदीय दलको नेता र मुख्यमन्त्री बनेको भन्दै कमिटीको तर्फबाट पनि बधाई दिएका थिए।
लामो समयदेखि माधवकुमार नेपाल पक्षमा रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बनेसँगै ओली पक्षमा खुलेकी छन्। सोमबार ओली निवास बालकोटमा भएको सहमति पछि पहिले नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्यहरु पनि आजको स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।