काठमाडौं– नेकपा एमालेले माधव कुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा १४ जना नेताको सनाखत नगर्न निर्वाचन आयोगलाई 'दबाब' दिएको छ। मंगलबार निर्वाचन आयोग पुगेर एमाले (ओली पक्ष)का नेताहरुले पार्टीले कारबाही गरेकाले माधव नेपालसहित १४ नेतालाई सनाखतमा समावेश नगराउन ध्यानाकर्षण गराएका हुन्।
एमाले निर्वाचन विभाग प्रमुख अग्नी खरेल, निर्वाचन कमिटि सचिव बाबुराम दाहालसहितको टोली निर्वाचन आयोग पुगेर वुधबार हुने सनाखतमा पार्टीले कारबाही गरेका र अन्य व्यक्तिको हस्ताक्षर गैरकानुनी हुने जिकीर गरेको हो।
उनीहरुले माधव नेपालसहितका नेतालाई कारबाही गरेको विवरण बुझाइएका कारण सांसदका रुपमा उनीहरुको गणना हुन नसक्ने र उनीहरु केन्द्रीय समय नरहेको दाबी आयोगमा गरेका छन्।
एमालेले भदौ १ गते नै नेता नेपालसहित १४ जनालाई पार्टीबाट निष्कासन गरेको विवरण निर्वाचन आयोगमा बुझाइसकेको र उक्त विवरण अद्यावधिक गर्दै त्यसलाई मान्यता दिएर उनीहरुको सनाखत गराउन नमिल्ने जिकीर गरिएको छ।
सभामुखले एमालेको सांसदबाट कारबाही नगरेपछि राजनीतिक दलसमम्बन्धी नियमावलीले उनीहरुलाई हस्ताक्षर गर्न रोक्ने एमाले निर्वाचन कमिटीका सदस्य बाबुराम दाहालको भनाइ छ।
‘निर्वाचन आयोग कानुन विपरीत जान नमिल्ने कुरा हामीले ध्यानाकर्षण गराएका छौं,’ दाहालले भने ‘एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको र पार्टीले कारबाही गरेको पत्र यहाँ (निर्वाचन आयोगमा) पनि पेस भएको छ।’
आयोगले आफूहरुको ध्यानाकर्षका विषयमा सकारात्मक जवाफ दिएको दाहालले बताए। आयोगले ऐन बाहिर गएर सनाखत नगराउने प्रतिवद्धक्ता व्यक्त गरेको उनको भनाइ छ।
दल दर्ताको निवेदन दिने बेला हस्ताक्षर गरेका बाहेक अरु नयाँ थपेर सनाखत नगर्न समेत एमालेले आयोगको ध्यानाकर्षण गराएको छ। आयोगले माधव नेपाल पक्षलाई सनाखतका लागि बुधबार बिहान ११ देखि दिउँसो २ बजेको समय तोकेको छ। आयोगले सनाखतका लागि सशरीर उपस्थित हुन भनेको छ। ओली पक्षको दबाबकै बीचमा माधव नेपालसहितका नेताहरु भने काठमाडौंको चन्द्रागिरिस्थित रिसोर्टमा पार्टीको दस्तावेज बनाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।