काठमाडौं– नेकपा एमालेकी सांसद माया ज्ञवाली एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन्। ज्ञवाली सो पार्टीको सोमबारदेखि चन्द्रागिरीमा जारी बैठकमा सहभागी भएकी छन्।
यसअघि उनी एमालेमा केपी शर्मा ओलीनिकट रहँदै आएकी थिइन्। नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगले बुधबार सनाखत गर्न बोलाएको छ। सनाखतमा सो पार्टीका केन्द्रीय सदस्य र सांसदहरु सशरीर उपस्थित हुनुपर्नेछ।
बुधबारको सनाखतमा एमाले केन्द्रीय सदस्यहरु सोमप्रसाद पाण्डे र राजन राई पनि सहभागी हुने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए। ‘सोमप्रसाद पाण्डे, माया ज्ञवाली र राजन राई निर्वाचन आयोगमा हुने सनाखतमा जानुहुनेछ’, खतिवडाले भने, ‘यसबाहेक अरु तीन चारजना साथीहरु पनि थपिने निश्चित भइसकेको छ।’ पाण्डे र राई एमालेमा माधव नेपाल समूहमा रहे पनि नेपालले पार्टी विभाजन गर्दा तटस्थ बसेका थिए।
पाण्डेले भने आफू अहिले पनि पार्टीलाई एकताबद्ध पार्ने प्रयासमै रहेको बताए। उनले नेपाल लाइभसँग भने, ‘म अझै पनि पार्टीलाई एकताबद्ध पार्नुपर्छ भन्नेमै लागिरहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।