काठमाडौं- नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज) का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ।
नेकपा एमालेबाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो। एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ।
नेकपा एकीकृत समाजवादीको विधानमा पार्टीको राणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेद्को अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ।
(एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहेको जनाएको छ।
पार्टीको अन्तरिम विधानमा नेकपा एकीकृत समाजवादीले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद भएको जनाएको छ।
पार्टीलाई संक्षिप्तमा नेकपा(एस) भनिने उल्लेख गरिएको अन्तरिम विधान अनुसार यस पार्टीको सङ्गठनात्मक सिद्धान्त अर्थात पार्टी निर्माण र सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयताको सिद्धान्त हो।
विधानमा शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रुपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तात्कालीन लक्ष्य रहेको जनाइएको छ।
नेकपा एकीकृत समाजवादीले हरेक पार्टी कमिटीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवालाई राखिने विधानमा उल्लेख गरिएको छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति, विचार र मूल्यका विरुद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताए।
पूर्वप्रधानमन्त्री नेपालले एमालेको नेतृत्वले विधि, विधानको कुनै पालना नगरेको जनाउँदै विद्रोह गर्नुपरेको स्पष्ट गरे। राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश बमोजिम यही भदौ २ गते सो दलले नयाँ दल दर्ताका लागि निवेदन दिएकामा भदौ ९ गते सनाखतका लागि निर्वाचन आयोगले समय तोकेको छ।
सो पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष सात, महासचिव एक, सचिव सात गरी १७ पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी १५१ रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।