काठमाडौं- निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ।
सोमबार रिसोर्टलाई स्पष्टीकरण सोधिको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले नेपाल लाइभलाई जानकारी दिइन्।
‘रिसोर्टमा भिडभाड भयो भन्ने कुरा आएपछि के भएको हो भनेर मौखिक रुपमा सोधिएको हो' सहायक प्रमुख जिल्ला अधिकारी नेपालले भनिन्। उनले उपत्यकामा कोरोनाको जोखिम कायम रहेको र प्रशासनले निषेधाज्ञा जारी राखेका कारण त्यस अनुसारका गतिविधी नहुँदा प्रशासनले त्यसबारे चासो लिएको बताइन्।
चन्द्रागिरि हिल्स रिसोर्टमा सोमबार बेलुकादेखि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको बैठक चलिरहेको छ। उक्त रिसोर्टमा अध्यक्ष माधवकुमार नेपालसहित सांसद र केन्द्रीय सदस्यहरु गरि करिब १ सय जना भेला भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।