काठमाडौं– एमालेबाट विभाजन हुँदै एकीकृत समाजवादी दल निर्माणको क्रममा जुटेका माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि असन्तुष्टि व्यक्त गरेका छन्। चन्द्रागिरि पुगेर नेता नेपालले राष्ट्रपति भण्डारीले आफ्नो अभिभावकीय भूमिका बिर्सेर आफूलाई प्रधानमन्त्री कार्यालयको कर्मचारीजस्तो बनाउनु भएको आरोप लगाएका छन्।
कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यकता शीर्षकमा रहेको प्रतिवेदनमा उनले ओलीको अहंकारवादी प्रवृत्ति विकास हुनमा राष्ट्रपतिको साथ रहेको बताएका छन्। प्रधानमन्त्रीले गर्ने हरेक गैरसंवैधानिक र गलत कार्यमा साथ दिएकाले राष्ट्रपति आफ्नो भूमिका निर्वाह गर्नबाट चुकेको उनको आरोप छ।
एमालेबाट विभाजन भएर किन अलग पार्टी बनाउने र ओलीको किन विरोध गर्ने भनी उनले विस्तृत रुपमा उक्त अपिलमा उल्लेख गरेका छन्। ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँदै छिन्नभिन्न पार्न चाहने देशी–विदेशी प्रतिक्रियावादीले केपीओलीको घमण्डी र गैरकम्युनिस्ट चरित्रलाई प्रयोग गर्दै झन्झन् गलत दिशातिर जानका लागि प्रेरित गर्दै रहे,’ दस्तावेजमा भनिएको छ, ‘यी सबै परिवेशको साथ पाएपछि केपी ओलीमा ‘म नै राज्यसत्ता हुँ, म नै कानुन र संविधान हुँ, मैले जे गर्छु ठीक गर्छु, मैले जे बोल्छु ठीक बोल्छु, मबाट कुनै गलत काम हुनै सक्दैन’ भन्ने मनोग्रन्थी विकसित भयो।’
ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार सुरु गरेको नेपालको आरोप छ। ‘प्रतिनिधिसभा सुचारु रहेका बेला विधेयक पारित गर्न कुनै चासो नदेखाउने र संसदको अधिवेशन सकिएको भोलिपल्टै जनविरोधी अध्यादेश ल्याउने प्रधानमन्त्री नेपालको इतिहासमा वहाँ मात्रै हो,’ प्रतिवेदनमा भनिएको छ, ‘आफैंले सिफारिस गरी राष्ट्रपतिबाट रातारात विघटन गराएको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापित भएपछि नैतिकताको आधारमा राजिनामा नदिने र पुनः अर्को निहुँ खोजेर प्रतिनिधिसभा भंग गर्ने अलोकतान्त्रिक वा तानाशाही प्रवृतिको प्रधानमन्त्री केपी ओलीबाहेक विश्वमा विरलै भेटिएलान्।’ बुँदागतरुपमा भन्नुपर्दा केपी ओलीले गरेका संविधान र लोकतन्त्र विरोधी कामलाई धेरै रहेको दस्तावेजमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।