काठमाडौं– पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहेको जनाएको छ।
पार्टीको अन्तरिम विधानमा नेकपा एकीकृत समाजवादीले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद भएको जनाएको छ।
पार्टीलाई संक्षिप्तमा नेकपा(एस) भनिने उल्लेख गरिएको अन्तरिम विधान अनुसार यस पार्टीको सङ्गठनात्मक सिद्धान्त अर्थात पार्टी निर्माण र सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयताको सिद्धान्त हो।
‘यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ। यो पार्टी जन आधारित कार्यकर्ता पार्टी हो। यो पार्टी सबै खाले प्रतिकृयावाद, अवसरवाद र संकीर्णताकाबिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ’ अन्तरिम विधानमा भनिएको छ, ‘आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीका सदस्यहरूको कर्तब्य हुनेछ।’
नेकपा एकीकृत समाजवादीले हरेक पार्टी कमिटीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवालाई राखिने विधानमा उल्लेख गरिएको छ।
सदस्यताका लागि एकीकृत समाजवादीमा दुई खालको व्यवस्था गरिएको छ। जसअनुसार साधारण सदस्य र संगठित सदस्य रहने छन्।
पार्टीका केन्द्रीय निकायहरू ८ प्रकारका हुने नेकपा एकीकृत समाजवादीको विधानमा उल्लेख गरिएको छ। राष्ट्रिय महाधिवेशन,राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च पार्टीकव् केन्द्रीय निकाय हुने विधानमा उल्लेख गरिएको छ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुने विधानमा उल्लेख गरिएको छ। केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने विधानमा उल्लेख गरिएको छ।
त्यस्तै केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था विधानमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।